गोर्खा ब्वाइज दमक गोल्डकको सेमिफाइनलमा

चैत्र १२, २०७८ | बिर्तामोड

पेनाल्टी सुटआउटमा जित निकाल्दै रुपन्देहीको गोर्खा ब्वाइज क्लब झापामा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा भारतको दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै गोर्खा ब्वाइज प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । 

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दार्जिलिङका दुई जना खेलाडीले बल पोस्ट बाहिर प्रहार गरेपछि गोर्खा ब्वाइजको सुनिश्चित बन्यो ।

टाइब्रेकरमा रुपन्देहीका मिक्चेन तामाङ, सुसन तामाङ, फोडे फोफोना र आइबडेले गोल गरेका थिए । दार्जिलिङका भाइचाङ राई, दिवस तामाङ र निसाकर राईको प्रहार मात्र गोलमा परिणत भयो । आशिष देवान र निवास रानाको प्रहार पोस्ट बाहिर गएको थियो । खेलमा दुबै टिमले पहिलो हाफमा गोल गरेका थिए ।

गोर्खा ब्वाइजले ८ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो । उसका मिक्चेन तामाङको फ्रिकिकमा विदेशी खेलाडी यानिकले सेकेन्ड बार च्याप्दै हेडमार्फत गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थालाई दार्जिलिङले पाँच मिनेट पछि नै बराबरीमा ल्याएको थियो । 

१३ औं मिनेटमा रुपन्देहीका डिफेन्डरको हातमा बल टच भएपछि दार्जिलिङले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पेनाल्टीमा भाइचाङ राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा गोलका लागि रुपन्देही लगातार मेहेनत गरेपनि दार्जिलिङका गोलकिपर धिरज विक बाधक बनिरहे । 

१० औं मिनेटमा रुपन्देहीका सुनिल खड्काको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ४५ औं मिनेटमा सुनिलले नै प्रहार गरेको बल दार्जिलिङका गोलकिपर धिरजको शरिरमा लागेर फर्किएको थियो । सो बललाई फोफोनाले कडा प्रहार गरेपनि गोलकिपर धिरजले पञ्च गरेर बाहिर पठाउन भ्याए । 

५६ औं मिनेटमा गोर्खा ब्वाइजका यानिकले एक्लै बल अघि बढाएर गरेको प्रहार फितलो बन्यो । ६७ औं मिनेटमा दार्जिलिङका आशिष देवानको लामो पासमा भाइचाङ राईको हेडर पोस्ट नजिकबाट बाहिरियो । ८७ औं मिनेटमा गोर्खा ब्वाइजका सुनिलले करिब २२ यार्ड टाढाबाट गरेको सशक्त प्रहार दार्जिलिङका गोलकिपरले बिचलित नभई नियन्त्रणमा लिए । 

९० औं मिनेटमा लामो पासमा पाएको बललाई दार्जिलिङका भाइचाङले गरेको प्रहार फ्रेममा पर्न सकेन । गोर्खा ब्वाइजका डिफेन्डर आइबडे प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा आइतबार त्रिभुवन आर्मी क्लब र दार्जिलिङको भानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुनेछ । 


प्रतिक्रिया