नेपाल पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

दमक गोल्डकपको सोमबारको खेलमा क्यामरुनी क्लब एभिनियरका खेलाडी जोर्डन (बैगुनी) ले प्रहार गरेको बल रोक्दै पुलिस क्लबका जुमानु राई (रातो) । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर । 

चैत्र १४, २०७८ | बिर्तामोड

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब झापामा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार क्यामरुनी क्लब एभिनियरलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै पुलिस गोल्डकपको अन्तिम चारमा पुगेको हो । 

दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोलरहित बराबरीमा टुंगिएको खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिसको भाग्य खुलेको थियो । पुलिसको जितमा कप्तान सुमन सुवेदी, अजित भण्डारी, नीरकुमार राई, सौजन याख्खा र जुमानु राईले गोल गरेका थिए ।

क्यामरुनका मार्सेल, बेल, टोबेट र मार्टिनको प्रहार गोलमा परिणत भएको थियो । जोस्पिनको प्रहार बारमा लागेर फर्किएको थियो । निर्धारित समयमा गोलका लागि दुबै टिमले कडा मेहेनत गरेका थिए । आक्रमक खेल पस्किए पनि दुबै टोली गर्न भने असफल रहे । 

पुलिस खेलको १२ औं मिनेटमा गोल गर्नबाट चुक्यो । उसका भरत शाहले डि–बक्स भित्रबाट गरेको कडा प्रहार क्यामरुनी गोलकिपर रोड्रिभको शरिरमा ठोक्किएर रिबाउन्ड भएको थियो । 

रिबाउन्ड बललाई पुन: रवि पासवानले गोलपोस्टको दिशा दिएपनि गोलकिपर रोड्रिभले पञ्च गर्दै बाहिर पठाएका थिए । २१ औं मिनेटमा क्यामरुनका रोनीले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । ६७ औं मिनेटमा पुलिसका सौजन याख्खाको फ्रिकिक प्रहार पोस्टको पहिलो बार नजिकैबाट बाहिरियो । 

खेलमा पुलिसका अञ्जन राई प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा मंगलबार पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुनेछ । 


प्रतिक्रिया