पुलिस दमक गोल्डकपको फाइनलमा

चैत्र १६, २०७८ | बिर्तामोड

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब झापामा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार दोस्रो सेमिफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइजमाथि १–० गोलको कठिन जित निकाल्दै पुलिस प्रतियोगिताको उपाधि नजिक पुगेको हो । 

पुलिसका लागि नीर कुमार राईको गोल निर्णायक बन्यो । उनले ५९ औं मिनेटमा डी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । लगातार दशौं पटकको प्रहारमा मात्र पुलिसले गोर्खा ब्वाइजको पोस्टमा गोल गर्न सफल भएको हो । 

दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलमा गोलकर्ता नीरकुमार प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

गोल्डकपको उपाधिको लागि पुलिसले शुक्रबार मनाङ मर्स्याङदी क्लबसँग फाइनल खेल्ने छ । चैत ९ देखि सुरु गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेता टिमले नगद ६ लाख ११ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । 


प्रतिक्रिया