सुदूरपश्चिम प्रदेश यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा

तस्बिर सौजन्य : क्रिकेट एसोसिएसन अफ नेपाल 

मंसिर १४, २०७९ | काठमाडौं

सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिम एक खेल अगावै फाइनल पुगेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा १ सय २३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा दिपक बोहोराले ५३ रनको अर्धशतकीय ईनिङ्स खेले । 

मधेशका अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको मधेश प्रदेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । 

मधेशका अलि अन्सारीले सर्वाधिक ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे । अपराजित सुदूरपश्चिमको ५ खेलबाट १० अंक छ । चार खेल खेलेको मधेश अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै, चार खेलमा अपराजित रहेको बाग्मती प्रदेश पाँचौ खेलमा लुम्बिनीसँग ८५ रनले पराजित भएसँगै एक खेल अगावै फाइनल पुग्ने अवसर गुमाएको छ । २ सय ३५ रनको लक्ष्य पछ्याएको बाग्मती ३५ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ४९ रनमा समेटियो । बाग्मतीका कप्तान अशोक पौडेलले ३१ रनको योगदान गरे । 

लुम्बिनीका दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट हात पारे । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । 

लुम्बिनीका देव खनालल सर्वाधिक ४६ तथा आकाश त्रिपाटीले ४० रन जोडे । जितसँगै लुम्बिनीले फाइनल यात्रा कायमै राखेको छ । अंक तालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनीको ४ खेलबाट ६ अंक छ । ५ खेलबाट ८ अंक जोडेको बाग्मती दोस्रो स्थानमा छ ।


प्रतिक्रिया