यू–१९ क्रिकेट : लुम्बिनी र गण्डकी प्रदेश विजयी

मंसिर १५, २०७९ | काठमाडौं

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलको सम्भावना कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

 लुम्बिनीका देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे । प्रदेश–१ का कप्तान दिपेश कँडेलले ३ तथा विपीन महतोले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २६ दशमलव २ ओभरमा अलआउट हुँदै ६९ रन बनाएको थियो । जितसँगै लुम्बिनीको ५ खेलबाट ८ अंक छ । समान अंक रहेको बाग्मती प्रदेश रनरेटमा अघि रहेका कारण लुम्बिनी तेस्रो स्थानमा छ । ५ खेलबाट ४ अंक जोड्दै प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको छ ।

उता, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १ सय ९ रनले पराजित गरेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । कर्णालीका सुवास ऐरले सर्वाधिक ३२ रन जोडे । गण्डकीका सुवास भण्डारीले ६ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । दुवै टोली प्रतियोगिताबाट बाहिरि सकेका छन् ।


प्रतिक्रिया