उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्ने

माघ ६, २०७९ | सुनसरी

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् । 

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ८ विकेटले पराजित गर्दै प्रदेश १ ले उपाधि यात्रा तय गरेको हो । प्रदेश १ ले उपाधिका लागि शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । जनता क्रिकेट पार्कमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबमाथि ८ विकेटको सहज जित निकाल्दै प्रदेश–१ ले सुदूपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश–१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन् । अप्सरी बेगम ९ रनमा अविजित रहिन् । 

काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् । एपीएफका नेरी थापाले १ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।

एपीएफका लागि कप्तान सीता रानामगरले ४ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १० रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तेस्रो ओभरको चौथो बलमा इन्दु बर्मा ७ रनमा सबनम राईको बलमा आउन भईन् । 

एपीएफले २३ रन बनाउँदा २ विकेट गुमाएको थियो । त्यसपछि भने एपीएफले लगातार विकेट गुमाउन पुग्यो । ओपनर ज्योति पाण्डे ५, राजमती ऐरी ३, रोमा थापा शून्य, ममता चौधरी ४, सरिता मगर १, नेरी थापा २, रेखा रावल शून्य र सुमन विष्टले २ रन मात्र जोड्न सके । 

प्रदेश १ की संगिता राईले ४ ओभरमा २ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिइन् । उनी प्लेयर अफ द म्याच घोषित भइन् । एलिसा खडियाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिंदा सबनम राइले २ ओभरमा २१ रन खर्चेर २ विकेट हात पारिन् ।

यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनायो ।

सुदूरपश्चिमको लागि प्लेयर अफ द म्याच कविता कुँवरले ५४ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ७० रनको पारी खेलिन् । उनले बनाएको यो रन जारी प्रतियोगिताकै उच्च हो । कप्तान विन्दु रावल ५२ बलमा ९ चौका सहित ६० रनमा अविजित रहिन् । 

पहिलो विकेटका लागि कविता र बिन्दुले १ सय २८ रनको शानदार शतकीय साझेदारी गरेका थिए । कविता जोशी १५ बलमा ४ चौका र २ छक्का सहित ३२ रनमा अविजित रहिन् । 

मधेशकी साहना प्रविन र भूमि सिंहले एक एक विकेट लिईन् । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो । 

मधेशकी प्रतिमा शाहले १८ बलमा ३ चौका सहित सर्वाधिक १९ रन र सीमा कुँवरले १६ रन बनाइन् । एलिसा यादवले ३९ बलमा २ चौका सहित १४ रन नाईन् । सुदूरपश्चिमकी मनिषा चौधरी र ऋतु कनोजियाले २/२ विकेट लिईन् । 


प्रतिक्रिया