आठौं अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता माघ २४ देखि

माघ १८, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा आगामी २४ गतेदेखि अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा यहीं माघ २४ गतेदेखि आठौं अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । 

माघ २८ गतेसम्म सञ्चालन हुने ‘मणिमुकुन्द रनिङ शिल्ड’ को मंगलबार अनावरण गरिएको छ । विभिन्न प्रदेशका ११ समूह सहभागी हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो । 

त्यस्तै, सेमिफाइनल प्रवेश गर्ने अन्तिम समूहले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ बेस्ट सेटर, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर लगायतलाई जनही १० पुरस्कार दिइने आयोजकले जनाएको छ ।

२५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा खेलाडीका लागि खाना, नास्ता, आवास तथा यातायातको समेत व्यवस्था गरिएको मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । 

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसँगै नयाँ खेलाडी समेत सहभागी हुने छन् । प्रतियोगिताले नयां प्रतिभाको उदय तथा पहिचानमा सहयोग गर्नुका साथै खेल गतिविधिलाई चलायमान बनाउने आयोजकले अपेक्षा गरेको छ । आठौं संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशबाट जिल्ला भलिबल संघ स्याङ्जा, बाग्लुङ, तनहुँ, नवलपुर र पर्वत सहभागी हुने भएका छन् । 

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी सहभागी हुने भएका छन् । त्यस्तै बागमती प्रदेशबाट चितवन तथा सुदूरपश्चिम प्रदेशबाट बझाङ जिल्ला भलिबल संघ सहभागी हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया