क्यानको वार्षिक साधारणसभा आगामी फागुनमा

माघ १८, २०७९ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा आगामी फागुनमा कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । पोखरामा सम्पन्न क्यान कार्यसमिति बैठकले फागुन १४ र १५ मा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । साथै, क्यानको विषेश साधारणसभा आगामी जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । 

यसैबीच, नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका सदस्यको राजीनामा माग गर्दै बोर्ड बैठक बहिस्कार गरेका ७ जना केन्द्रीय सदस्यलाई सहकार्यमा आउन क्यानले आग्रह गरेको छ ।

यस्ता विवादले क्यान फेरी निलम्बनतिर जाने खतरा रहेको भन्दै विगतका कमीकमजोरीलाई सच्याउदै अघि बढ्न क्यानले केन्द्रीय सदस्यहरुलाई अनुरोध गरेको हो । यस्तै, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएपछि रिक्त पदमा क्यान बोर्ड बैठकले दुर्गाराज फाठकलाई नियुक्त गरेको छ ।

बैठकले यू–१९ राष्ट्रिय त्रिकेट टोलीको कप्तानमा गुल्सन झालाई नियुक्त गरेको छ । यस्तै, बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय पनि गरेको छ । यसपटक क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ । यसअघि पुरुष/महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको थियो । 


प्रतिक्रिया