सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रिट विश्व फुटबल खेल्ने
मंसिर ८, २०८१ | काठमाडौं
सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । चीनको क्विन्डहोमा यही मंसिर ११ देखि १६ सम्म हुने च्याम्पियनसिपमा ‘बी’ डिभिजन क्लब सरस्वती युथको प्रतिनिधित्व गर्दै नेपाली खेलाडीले भाग लिन लागेका हुन् ।
विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।
चीन जाने नेपाली टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सभासद् सुनिल केसी, क्लबका पूर्वअध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरेका थिए । सात सदस्यीय नेपाली टोली आइतबार चीन जानेछ ।
टोलीका खेलाडीमा दीपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभान्शु शर्मा र दिभान्सु शर्मा छन् । प्रशिक्षकमा असिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल छन् ।
उपाधि जित्ने लक्ष्यसाथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक असिम अर्यालले बताउनुभयो । प्रशिक्षक अर्यालका अनुसार फुटसलभन्दा सानो कोर्टमा खेलिने थ्री बाई थ्री फुटबल ८ मिनेटको हुनेछ ।