सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विकेलाई

मंसिर १३, २०८१ | काठमाडौं

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर राहुल विकेले जितेका छन् । अन्तिम दिन आज ५ अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२ अन्डर २ सय ७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पराजित गरे ।

 राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११ अन्डर २ सय ७७ सहित दोस्रो भए ।

 प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य भने समग्रमा ७ अन्डर २ सय ८१ सहित तेस्रो भए । उनले आज इभन पार ७२ मा खेल सकाए । समग्रमा ३ अन्डर २ सय ८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । 

निरजले आज १ ओभर ७३ र भुवनले २ अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन आगामी डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।


प्रतिक्रिया