नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको १ सय वर्ष, इतिहासको प्रभाव र वर्तमान सन्दर्भ
मंसिर ११, २०८० | काठमाडौं
नेपाल र बेलायतको तत्कालीन इस्ट इण्डिया कम्पनीबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको १ सय वर्ष पूरा भएको छ । घाम कहिले नअस्ताउने तथा विश्वको सबैभन्दा शक्तिशाली बेलायतले नेपालसँग द्धौत्य सम्बन्ध कायम गर्दै राष्ट्रको मान्यता दिएको थियो । भारतमा उपनिवेश रहेका बखत नेपालले बेलायतका छिमेकिका रुपमा हेर्ने गरेको थियो । नेपालको अहिले भूगोल, छिमेकि भारतसँगका सम्बन्धका विभिन्न आयाममा बेलायतको ठूलो भूमिका छ । नेपालीले विश्व युद्धमा बेलायतका लागी लडेका जस्ता इतिहासले दुई मुलुकबीचको सम्बन्धलाई निकै कसिलो बनाएको छ । नेपालमा बेलायती प्रभाव विद्यालयको शिक्षा देखी कर्मचारी तन्त्र कानुन निर्माण, संसदीय ब्यवस्थामा समेत ब्यापाक छ । हाल विश्व भूराजनितिक अग्र भूमिकामा नरहेको बेलायतको आफ्नै आन्तरिक अवस्थाका कारण नेपालसँगको सम्बन्ध पनि ओझेलमा परेको छ ।
नेपाल र बेलायतबीच सन् १९२३ मा दुई मुलुकबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापनाको १ सय वर्ष पूरा भएको हो । सन् १९२३ मा औपचारिक सम्बन्ध कायम भएपनि दुई मुलुकबीच सन् १८१६ देखी नै कुटनीतिक सम्बन्ध रहेको थियो । नेपालले सन् १९२३ को डिसेम्बर २१ का दिन बेलायतबाट सार्वभौमसत्ता सम्पन्न मुलुकको औपचारिक मान्यता प्राप्त गरेको इतिहास छ । इतिहास एवम् कुटनीतिकज्ञ सरदार भीमवहादुर पाँडेको प्रसिद्ध पुस्तक “त्यसवखत्को नेपाल” मा लेखिएको छ–“पुस महिनामा भएको सो सन्धिको खुशीमा काठमाडौंमा जुवा खेल्न फुकुवा गरीएको थियो भने देशैभर दुई दिन सार्वजनिक विदा घोषणा गरीएको थियो । त्यस्तै, ज्यानमाराका अभियुक्त बाहेकका सबै कैदीलाई तीन महिनाको कैद सजाय मिनाहा दिइएको थियो ।”
सुगौली सन्धिबाट मुलुकलाई लागेको धक्कापछिको उपलब्धीका रुपमा तत्कालीन राणा शासकले सो सन्धिलाई उत्सवका रुपमा मनाएका थिए । दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध कायम भएको पत्रमा नेपालका तत्कालीन प्रधानमन्त्री मन्त्री चन्द्रशमशेर राणा र बेलायती आर्मीका जर्नेल विलियम फेड्रिक ट्रार्भस ओ कनोरले राजदूतका हैसियतमा पत्रमा हस्ताक्षर गरेका थिए । त्यसलगत्तै बेलायतले काठमाडौंमा औपचारिक रुपमा दूतावास स्थापना ग¥यो । नेपालमा कुटनीतिक नियोगको कार्यालय स्थापना गर्ने बेलायत पहिलो राष्ट्र हो । नेपालले भने ११ बर्षपछि मात्र लण्डनमा सन् १९३४ मा नियोग स्थापना गरेको थियो, जुन नेपालले खोलेको पहिलो नियोग हो ।
समयक्रममा सन् १९४७ मा भारतबाट बेलायती उपनिवेश हटेपछि नेपाल र बेलायतबीचको सम्बन्धका आयामहरु परिवर्तन हुँदै गएको पाइन्छ । बेलायतले नेपालसँग १९५० को अक्टोबर ३० मा सन्धीमा हस्ताक्षर गर्दै नयाँ आयाम प्रदान गर्नु त्यसको एक उदाहरण हो । बेलायतले नेपाललाई टाढाको छिमेकीका रुपमा ब्याख्या गर्दै विकासका क्षेत्रमा सहयोग गर्ने, नेपाल युवालाई गोर्खा सैनिकमा भर्तिको निरन्तरता जस्ता कार्य गरिरहेको इतिहासकार त्रिरत्न मानन्धरले बताए ।
सन् १८१६ मा सुगौली सन्धीपछि गोर्खा सैनिकको भर्ति सुरु भएको थियो, जसलाई नेपाल बेलायत सम्बन्धको सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ । पहिलो र दोश्रो विश्व युद्धमा गरेर बेलायतका निम्ति २ लाख ३८ हजार गोर्खा सैनिकले भाग लिएका थिए । सन् १९४७ मा भारतबाट बेलायती उपनिवेश कटेपछि पनि बेलायतले गोर्खा सैनिकलाई मलाया आपतकाल, ब्रुनाई, हङककङ, फकल्याण्ड, कोशोभो, दक्षिण सुडान, पोल्याण्ड, एस्टोनिया, अफगानिस्तानमा प्रयोग गरेको पाइन्छ । तर तत्कालीन नेपाली शासकको स्वार्थका कारण दुई मुलुकबीच असमान सैनिक भर्ति सम्झौता भएको र अहिलेसम्म त्यसलाई नै निरन्तरता दिइएको भन्दै टिप्पणी भइरहेको पूर्व गोर्खा सैनिक समेत रहेका टिप्पणीकार डा. रामनारायण कन्दङ्वाको भनाई छ ।
शताबदी लामो कुटनीतिक सम्वन्ध भएपनि पछिल्ला दशकहरुमा फेरिदो भूराजनीति र अन्तराष्ट्रिय सम्वन्धका कारण बेलायतको प्रभाव नेपालको हकमा कमजोर बन्दै गएको परराष्ट्र मामिलाका विज्ञ माधवजी श्रेष्ठले बताए । ऐतिहासिक महत्व बोकेको सन्धिका गुण र दोषलाई लिएर अझै पनि नेपाली समाजमा फरक खालका धारणा र बुझाइ पाइन्छ । त्यसमध्ये सुगौली सन्धिका कारण नेपालले आफ्ना केही भूभाग गुमाउनु परेको इतिहासको एउटा दुःखद परिघटनालाई बढी महत्वको रुपमा हेरिएको छ । बेलायतसँग तत्कालीन अवस्थामा भएको सन्धिको सान्दर्भिकतालाई लिएर समेत विभिन्न कोणबाट चर्चा र विश्लेषण भएका छन् । तर यो अवधिमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्वन्धले थुप्रै उतारचढाव व्यहोरेको छ ।
नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्धको १ सय वर्ष पूरा भएको विषयमा तयार अडियो सामग्री सुन् तलको लिङ्क खोल्नुहोला ।