प्रधानमन्त्री देउवाद्वारा न्यू खिम्ती सव-स्टेशनको उद्घाटन

चैत्र ५, २०७८ | रामेछाप

रामेछापको मन्थली नगरपालिका–१३ मा निर्माण भएको न्यू खिम्ती सव–स्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नु भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना मार्फत उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडनका लागि सो सव–स्टेशनको निर्माण गरीएको हो । 

२२०/१३२ केभी क्षमताको सो सव–स्टेशन नेपालकै दोश्रो ठूलो क्षमताको हो । न्यू खिम्ती सव–स्टेशनको उद्घाटनपछि प्रधानमन्त्री देउवाले सव–स्टेशनका विभिन्न कक्षहरुको अवलोकन गर्नु भएको थियो । 

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल, सचिव देबेन्द्र कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाका विविध पक्ष माथि देउवालाई जानकारी गराउनु भएको थियो । 

माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृह गोगरदेखि न्यू खिम्ती सव–स्टेशन सम्मको २२० केभी प्रशारण लाईन मार्फत विद्युत आपूर्ति गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । सव–स्टेशनबाट २२० केभी प्रशारण लाइन ढल्केबरतर्फ र १३२ केभी प्रशारण लाइन सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं लगिएका छन् । 

तामाकोशी जलविद्युत आयोजनाका अतिरिक्त हाल सो सव–स्टेशनमा खिम्ती जलविद्युत आयोजना, लिखु ए जलविद्युत आयोजना र लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएका छन् । निकट भविष्यमा माथिल्लो र अपर खिम्ती, लिखु १, २ र ३ आयोजनाबाट उत्पादित विद्युत समेत सोही सव–स्टेशनमा जोडिएका छन् ।

न्यू खिम्ती सव–स्टेशनको उद्घाटन पश्चात प्रधानमन्त्री देउवा दोलखाको गोगंरस्थित माथिल्लो तामाकोशी आयोजनाको उत्पादन गृहको निरीक्षण र आयोजनामा संलग्नलाई प्रमाण पत्र वितरण गर्ने गर्नु भएको थियो । 


प्रतिक्रिया