सल्यानमा चैते धान परीक्षण सफल

श्रावण ६, २०८० | सल्यान

सल्यानको कुमाख गाउँपालिकाको मर्मखोला क्षेत्रमा चैते धानको परीक्षण सफल भएको छ । जिल्लालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन धान जोनको रुपमा छनोट गरिएको मर्मखोला क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शाखा कार्यालयले चैते धानको सफल परीक्षण गरेको हो । 

परीक्षण अनुसार यो वर्ष जनमैत्री कृषक समूहको अध्यक्ष कुमारी बुढाथोकीको तीन रोपनी जग्गामा चैते धान लगाईएको र उत्पादन सोचे भन्दा बढी भएको परियोजनाको जिल्लास्थित शाखा कार्यालयका प्रमुख श्रीकृष्ण न्यौपानेले बताउनुभयो । मर्मखोला क्षेत्रमा परीक्षणका लागि ५ जातको चैते धान लगाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुमाख गाउँपालिकालाई २०७६ मा धान जोनको रुपमा घोषणा गरिएको थियो । कोरोना महामारीका कारण तीन वर्ष परीक्षण हुन सकेको थिएन । 

२०७९ चैत्रमा पहिलो पटक परीक्षण गरिएकोमा प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन भएको उहाँको भनाई छ । बर्खे भन्दा चैते धानको उत्पादन राम्रो भएकाले यो वर्षदेखि त्यसलाई बिस्तार गर्ने उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया