सुनकोशी-मरिण डाइभर्सनको बुधबार 'ब्रेक थ्रु' हुने

सुनकोसी-मरिण डाइभर्सन अन्तर्गत ब्रेक थ्रु हुन लागेको सुरुङ । तस्बिर : राजकुमार कार्की, रेडियो कान्तिपुर 

वैशाख २५, २०८१ | सिन्धुली

सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम सकिएसँगै भोलि बुधबार 'ब्रेक थ्रु' हुने भएको छ । ब्रेक ‘थ्रु’का लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो । १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो ।

आयोजनाको प्रवेशद्वार कमलामाइ नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजना प्रमख बरालले जानकारी दिनुभयो । 

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको काम कमलामाइ–२ को कुसुमटारदेखि सुनकोसी–७ को कानढुंग्रीसम्म हो । आयोजना प्रमुख बरालका अनुसार सुरुङ खन्नको लागि २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै सम्पन्न भएको हो ।

एकैदिन ७२ मिटरसम्म सुरुङ खनियको आयोजनासँग रेकर्ड छ । २०७९ असोज २८ गतेबाट सुरु भएको सुरुङ खन्ने काम ६ पटक अवरोध भएको थियो । २०७७ साल फागुन २० गते कमलामाइ–२ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो । 

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्नको लागि सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँँध निर्माणको काम जारी छ । 

सुनकोशी नदीको पानी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूमेस मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले मूल्य अभिवृद्धि कर बाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सकारेको थियो । 

नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिण खोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिंचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष राखिएको छ । 

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै बाग्मती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ ।



प्रतिक्रिया