दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न अदालतको आदेश

वैशाख २८, २०८१ | काठमाडौं

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ । 

मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई आज सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो ।

भारतीय सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपांकर दत्ताको इजलासले मुख्यमन्त्री केजरीवाललाई केही समयकालागि रिहा गर्न आदेश दिएको हो । 

अगस्ट २०२२ मा दर्ता भएको मदिरा नीति मामिलामा प्रवर्तन निर्देशनालय ईडीले मुख्यमन्त्री केजरीवाललाई गत मार्च २१ मा गिरफ्तार गरेको थियो ।

अदालतले केजरीवालले जुन १ सम्म लोकसभा चुनावको प्रचार–प्रसार गर्न सक्ने पनि जनाएको छ । त्यस्तै मदिरा नीति मामिलामा केजरीवाल पक्राउ घटनाको छिट्टै नै सुनुवाइ सक्ने पनि अदालतले जनाएको छ । 

अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई पक्राउ गर्नुबारे पनि प्रश्न उठाएको थियो ।

लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु ‘राजनैतिक षड्यन्त्र’ भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

 लोकसभा चुनावअन्तर्गत भारतमा ७ चरणको मतदान भइरहेको छ । सो मध्ये तीन चरणको मतदान भइसकेको छ । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।


प्रतिक्रिया