सौराहामा सुरु भयो नेपाल–भारत साहित्य उत्सव

कार्तिक २७, २०७८ | चितवन

पर्यटकीय क्षेत्र सौराहामा शनिबारदेखि नेपाल–भारत साहित्य उत्सव सुरु भएको छ । चितवनको कविडाँडा साहित्य समाजले आयोजना गरेको सो कार्यक्रम आइतबारसम्म चल्ने छ । कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गर्नुभयो । 

उत्सवमा नेपाली भाषामा लेख्ने नेपाल र भारतका सय साहित्यकारहरुको जमघट रहेको छ । कार्यक्रममा साहित्यकारहरु सम्मानित पनि भएका छन् । कार्यक्रमको उद्घाटन समारोहमा नेपालका साहित्यकार, समालोचक मुकुन्दशरण उपाध्याय, इल्या भट्टराई, डीआर पोखरेल, श्रवण मुकारुङ र भारतका कवि मनप्रसाद सुब्बालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गर्नुभयो । 

त्यसैगरी कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कारबाट आख्यानकार श्याम साहलाई पुरस्कृत गरिएको छ । उहाँको कृति कथा संग्रह पथेरलाई सो पुरस्कार प्रदान गरेको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताउनुभयो । 

त्यसैगरी कविडाँडा अविनासी कृति पुरस्कार संयुक्त रुपमा ‘ग्रिन टावेल’ कथा संग्रहका लागि शान्ती शर्मा र ‘निर्णय’ कथा संग्रहका लागि गायत्री अधिकारीलाई दिइयो । कविडाँडा युवा वाङ्मयी सम्मान तथा देव–खीना स्मृति पुरस्कार कथाकार, कवि तथा संगीतकार निर्दोष जीवनलाई प्रदान गरिएको छ । 

कविडाँडा साहित्य समाजले आयोजना गरेको निबन्ध प्रतियोगिताका पाँच जना विजेता पनि सोही कार्यक्रममा पुरस्कृत भएका छन् । कार्यक्रममा दुई दिनसम्म विभिन्न विषयका ६ वटा कार्यपत्रहरु पेश हुने छन् । आइतबार दुईवटा विषयमा परिचर्चा हुने आयोजक संस्था कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो । 

भारतबाट गोमा अधिकारी, नेपालबाट केशव चालिसे, भारतका नवीन पौडेल र टिबी क्षेत्री, नेपालका अशोक थापा र लिला लुइँटेलले विभिन्न विषयमा कार्यपत्रहरु पेश गर्दै छन् । भोलि आइतबार ‘विश्व साहित्यमा नेपाली–गोर्खाली आवाज’ विषयमा हुने परिचर्चामा सरिता शर्मा, नीलम कार्की निहारिका, राजा पुन्यानी, शरद प्रधान, राहुल राई सहभागी हुनेछन् । 

‘साहित्यिक आदनप्रदान, बजार र बिस्तार–सन्दर्भ नेपाल र भारत’ विषयको परिचर्चामा भिष्म उप्रेती, रेनिका थापा, रामलाल जोशी, अर्जुन अधिकारी र युवा बरालले भाग लिने आयोजक संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । 

भारतबाट आएका जय क्याक्टस र नेपालका प्रध्यापक कपिल अज्ञातले अनुभव कथन राख्ने छन् । भारतबाट ३५ र नेपालबाट चितवन आसपास बाहेकका पनि ३५ जना साहित्यकार सहभागी भएको क्षेत्रीले बताउनुभयो । उद्घाटन कार्यक्रमका कीनोट स्पीकर महेश पौड्यालले नेपाल र भारतमा लेखिने साहित्यमा भन्न र लेख्न हाम्रा आफ्ना कथाहरु धेरै बाँकी भएको बताउनुभयो । 


प्रतिक्रिया