विद्यार्थीले रोजगारीका लागि एनओसी बनाउँछन् !
फाल्गुन २२, २०७९
पछिल्लो समय विद्यालय शिक्षा सक्ने वित्तिकै विदेश पलायन हुने मोह बढ्दो छ । कक्षा १२ अध्ययनरत विद्यार्थीलाई भविष्यको योजना बारे सोध्ने हो भने उनीहरुमध्ये धेरैको रोजाइ विदेश पर्ने गरेको छ । नेपालको विश्वविद्यालय शिक्षाका पाठ्यक्रम, नतिजा प्रकाशन लगायतको परिपाटी हेर्दा केवल जनशक्ति उत्पादन गर्ने मात्र देखिएका छन् । जनशक्तिलाई रोजगार दिने खालको शैक्षिक गुणस्तर नहुँदा धेरै विद्यार्थीका लागि भविष्यको गन्तब्य विदेश हुने गरेको हो । एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल राज्यको उदासिनताका कारण दक्ष जनशक्ति बाहिरिनुका साथै ठूलो रकम बाहिरिएको बताउँछन् ।
नेपालका विश्वविद्यालयले पाठ्यक्रम सीपसंग जोड्ने, उद्यमसंग जोड्ने गरे विदेश पलायन हुने विद्यार्थीलाई रोक्न सक्ने सम्भावना छ । योजना आयोगले पनि उच्च शिक्षाको रणनीति बनाएर भौतिक पूर्वाधार विकास गर्न सक्दा पनि केही प्रतिशत विद्यार्थी नेपालमै रोकिन सक्ने कतिपयको भनाई छ । अध्ययन गरेको विषयले भविष्य नदेख्दा विद्यार्थीहरु बाहिरिने गरेका छन् । पछिल्लो समय कस्ता विद्यार्थीले बढी एनओसी लिने गरेका छन् त ? राज्यको कुनै पनि निकायले कुन क्षेत्रमा कति मात्रामा जनशक्ति आवश्यक छ भन्ने विषयमा आंकडा निकाल्न सकेको छैन । विश्वविद्यालयहरुको पाठ्यक्रम हेर्दा पनि प्रयोगात्मक भन्दा बढी सैद्धान्तिक देखिन्छ । कुनै पनि विद्यार्थीले सीपयुक्त बनाउने , उद्यमशील बनाउने कुरामा आत्मबोध गराउन सके विद्यार्थी विदेश पलायन हुने क्रम घट्ने बताउँछन् ।
प्राय : कक्षा १२ सकेपछि वैदेशिक अध्ययन अनुमति पत्र लिने विद्यार्थीको संख्या बढ्ने गर्दछ । तर पछिल्लो समय जापान जानका लागि एनओसी लिने विद्यार्थीको संख्या बढी रहेको एनओसी शाखाले जनाएको छ । एनओसी शाखाका पूर्व प्रमुख हरि निरौला वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले विचार पर्याएर गए मात्र राम्रो हुने बताउँछन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत एनओसी शाखाले एक सय ५ वटा मूलुकका लागि एनओसी जारी गर्ने गरेको छ । ती मध्ये धेरै विद्यार्थी ४० वटा देशहरुमा जाने गरेका छन् । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको अवस्था कस्तो छ भनेर जानकारी लिने कुनै पनि संयन्त्र वा निकाय नरहेको एनओसी शाखाले जनाएको छ । शिक्षाका कारणले मात्र विदेश जाने गरेका छैनन् । अधिकांश विद्यार्थीले रोजगारका लागि एनओसी बनाउने गरेको एनओसी शाखा प्रमुख वस्ती नै बताउँछन् ।
रोजगारीको अभाव, राजनीतिक अस्थिरता लगायत कारणले विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । उर्वर उमेरका जनशक्ति यही क्रममा बाहिरिरहे मूलुकमा आवश्यक जनशक्ति अन्य मूलुकबाट ल्याउनु पर्ने अवस्था आउन नसक्ला भन्न सकिन्न । त्यस कारण पनि सञ्चालित विश्वविद्यालय, शिक्षा क्षेत्रको नीति निर्माण गर्ने निकाय लगायतले नेपालमै विद्यार्थी टिक्न सक्ने र स्वरोजगार बन्न सक्ने खालको पाठ्यक्रम तर्जुमा गर्नु टड्कारो आवश्यकता देखिएको छ ।