लुम्बिनीमा बजेट अधिवेशन आह्वानको तयारी, मन्त्रिपरिषदको बैठक बस्दै

चैत्र २०, २०८० | बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि बजेट अधिवेशन आह्वान गर्ने तयारी गर्नु भएको छ । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादीले फागुन २३ गते फिर्ता लिएको थियो । 

अल्पमतमा परेपछि मुख्यमन्त्री चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन मात्र चलाएर चैत ४ गते अन्त्य गर्नु भएको थियो । मुख्यमन्त्री चौधरीले अल्पमतमा परेको ३० दिन अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । 

लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४३ (२) अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभामा छलफल हुनु भन्दा २ दिन अगाडि नै जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ ।

कानूनी व्यवस्था अनुसार विश्वासको मतमाथिको छलफलका लागि मुख्यमन्त्री चौधरीले मंगलबार अधिवेशन आह्वान सम्बन्धी निर्णय गर्ने र त्यसको जानकारी प्रदेश प्रमुखलाई गराउने तयारी गर्नु भएको हो । 

स्रोतका अनुसार उहाँले मंगलबार नै प्रदेश सभा सचिवालयमा पर्सि बिहीबार विश्वासको मत लिने जानकारी गराउने पनि तयारी गरेका छन् । अधिवेशन आह्वानका लागि मुख्यमन्त्री चौधरीले मंगलबार विहान ९ बजेटका लागि मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । 

प्रदेश सरकारका गृहमन्त्री एवं प्रवक्ता सन्तोषकुमार पाण्डेयले अबको केही बेरमा मन्त्रिपरिषद बैठक बस्ने बताउनुभयो । ‘बजेट अधिवेशन आह्वान गर्ने भन्ने जानकारी छ,’ उहाँले भन्नुभयो, ‘थप विषय मुख्यमन्त्री ज्यूले बैठकमै जानकारी गराउनु हुन्छ होला ।’ 

पर्सि बिहीबारका लागि अधिवेशन आह्वान गर्ने र त्यही दिन बस्ने बैठकमा सरकारका विषय पनि जानकारी दिने उहाँको भनाई छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार बिहीबारको बैठकमा सम्बोधन गरेपछि मुख्यमन्त्रीले राजीनामा दिने मनस्थिति बनाउनु भएको छ । तर, त्यसअघि पार्टीका नेता, कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री र प्रदेश सभा सदस्यसँग छलफल गर्ने मुख्यमन्त्री चौधरीको तयारी छ । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा राप्रपाका एक प्रदेश सभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तिमा ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छ । 

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३÷३, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजवादीका १÷१ र स्वतन्त्रबाट १ प्रदेश सभा सदस्य निर्वाचित छन् । 


प्रतिक्रिया