लुम्बिनीमा सरकार गठनका लागि सत्तारुढ दल आन्तरिक तयारीमा

चैत्र २०, २०८० | बुटवल

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि सत्तारुढ दलहरु आन्तरिक तयारीमा जुटेका छन् । कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएसँगै सत्तारुढ एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य थालेका हुन् । 

नयाँ गठबन्धनमा एमाले, माओवादी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक जना माओवादी निकट स्वतन्त्र प्रदेशसभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भईरहेको नेताहरुले बताएका छन् । 

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्र दुबैले दाबी गर्दै आएका छन् । माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । 

सत्तापक्षका दलहरुले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने अनिर्णित छ ।  नागरिक उन्मुक्ति सरकारमा सहभागी नभएपनि जसपा, एकीकृत समाजवादी र स्वतन्त्रको समर्थनमा सरकार बनाउने गरी माओवादीले छलफल सुरु गरेको हो।

कांग्रेसका मुख्यमन्त्री चौधरीले पनि अन्तिमसम्म सरकार जोगाउने गरी प्रयास जारी राख्नु भएको छ । कांग्रेस नेतृत्वको सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । 

संघीय सरकारमा नयाँ गठबन्धनमा सहभागी भएको जसपाले अहिलेसम्म पनि सरकार छोडेको छैन । त्यस्तै एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिएको छैन । दुबै दलले समर्थन फिर्ता नलिएको र ४ प्रदेश सभा सदस्य रहेको राप्रपाले पनि कांग्रेसलाई समर्थन गर्ने संकेत गरेका छन् । 

त्यसैले मुख्यमन्त्री चौधरीले नागरिक उन्मुक्ति र माओवादी निकट स्वतन्त्र प्रदेश सभा सदस्यलाई पनि मन्त्री बनाएर सरकार जोगाउने प्रयास गर्ने तयारी गर्नु भएको हो । मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिनका लागि पार्टी र कांग्रेसका मन्त्रीस“ग छलफल गरेर बर्खे अधिवेशन आह्वान गर्ने तयारी भईरहेको बताउनुभयो ।

संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री बन्ने गृहकार्य थाल्नु भएको हो । नेता महराले एमालेकै समर्थनमा बहुमतसहित आफू मुख्यमन्त्री नियुक्त हुने दाबी गर्नु भएको छ ।

 ‘केन्द्रमा गठबन्धन भित्र लुम्बिनी प्रदेशमा माओवादीको मुख्यमन्त्री बन्ने विषय टुंगो लागिसकेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य प्रदेशमा केही समस्या छ, त्यसैले सार्वजनिक भएको छैन् ।’ केन्द्रको संकेतपछि आफू सरकार गठनको तयारीमा जुटेको र छलफल सुरु गरेको नेता महराले बताउनुभयो ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने केन्द्रमा छलफल जारी रहेको र कुन दलले मुख्यमन्त्री लिने भन्ने विषयमा कुनै टुंगो नलागेको बताउनुभयो । 

‘भोलिसम्ममा टुंगो लाग्छ भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘अघिल्लो कार्यकाल ३ महिना पनि काम गर्न नपाएकाले अहिले एमालेले नै फेरि जिम्मेवारी पाउनुपर्छ ।’ मुख्मयन्त्रीका लागि एमालेले पनि आफ्नो दाबी नछोडेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताउनुभयो ।

यता, नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउने निश्चित भएको बताउनुभयो । 

‘लुम्बिनीमा हामीले सरकार गठनको प्रकृया सुरु गरिसकेका छौं, केन्द्रबाट पनि सम्भवत आज नै सर्कुलर आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘सरकार गठनका लागि आज दल नेताले बुटवलमै एमाले र सानादलसँग छलफल गर्ने तयारी छ ।’ 

बुधबार नै बहुमत सदस्यसहित माओवादीले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई जानकारी गराउने तयारी भईरहेको बरालले बताउनुभयो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा राप्रपाका एक प्रदेश सभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । 

सरकार गठन गर्न कम्तिमा ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ प्रदेश सभा सदस्य निर्वाचित छन् ।


प्रतिक्रिया