लुम्बिनीका मुख्यमन्त्री महराले सपथ लिँदै, सानो मन्त्रीमण्डल बनाउने तयारी

चैत्र २५, २०८० | बुटवल

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा योपनीयताको सपथ लिँदै हुनुहुन्छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार दिउँसो २ बजे मुख्यमन्त्री महरालाई सपथ गराउने कार्यक्रम रहेको छ । 

मुख्यमन्त्री महरासँगै तीन मन्त्रीलाई पनि सपथ गराउने तयारी छ । तर, सत्ता गठबन्धनका प्रमुख दल एमाले र माओवादीमै मन्त्री बन्नेको नाम टुंगो लागेको छैन । नयाँ सत्ता गठबन्धन बनेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिनु भएको थियो । 

शुक्रबार उहाँको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख शेरचनले सोही दिन महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । महरालाई लुम्बिनी प्रदेश सभाका ८६ मध्ये एमाले, माओवादी, नागरिक उन्मुक्ती नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४८ जनाको समर्थन रहेको छ । 

मुख्यमन्त्री महराले आफूसँगै एमालेबाट २, माओवादीबाट १, जसपाबाट १ र स्वतन्त्रबाट १ जना गरी ६ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी थाल्नु भएको छ । तर, एमाले र माओवादीमा मन्त्री बन्ने व्यक्तिको टुंगो लाग्न सकेको छैन । 

एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक तुलसीप्रसाद चौधरी मन्त्री बन्ने सम्भावना छ । तर, दुई मध्ये मुख्यमन्त्रीसँगको सपथमा एक जना मात्र हुन सक्ने स्रोतको दाबी छ । 

त्यस्तै माओवादीबाट प्रमुख सचेतक इन्द्रजित थारु र रोल्पाका दीपेन्द्र पुन मध्ये एक जनाको सम्भावना छ । दुवै आकांक्षी भएकाले आज मुख्यमन्त्री महराले मात्र सपथ लिने सम्भावना पनि उत्तिकै छ ।

जसपाबाट भण्डारीलाल अहिर र अम्बिका काफ्लेको नाम चर्चामा छ । त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य खड्ग बस्नेत पनि पहिलो सपथमै मन्त्री बन्दै छन् । मन्त्रालय बाँडफाँड र मन्त्रीको नाम टुंगो लगाउन दलका नेताहरु आइतबार बिहानैदेखि छलफलमा जुटेका छन् । 

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सानो मन्त्रीमण्डल बन्ने र आइतबार नै एमाले सरकारमा सहभागी हुने बताउनुभयो । 

उहाँका अनुसार सत्ता गठबन्धन दलबीच एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित ३, जसपाले २, स्वतन्त्र र नेकपा एकीकृत समाजवादीले १ मन्त्रालय कार्यकाल बाँडेर लिने समजदारी भएको छ । तर, कुन मन्त्रालय कुन दललाई भन्ने टुंगो आज मात्रै लाग्ने नेताहरुले जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बरालले आज मन्त्रालय बाँडफाँडको खाका बनाएर सानो मन्त्रीमण्डल बनाएर पठाउने बताउनुभयो । पहिलो एमाले र माओवादीले छलफल गर्ने त्यसपछि साना दलसँग छलफल गरेर टुंगो लगाउने उहाँको भनाई छ । 

४ जना प्रदेश सभा सदस्य रहेको र आन्तरिक विवादले अन्तिम समयमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिलाई भने पहिलो चरणमा सरकारमा सहभागी नगराउने गरी दलहरुको तयारी छ । अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । सत्ता गठबन्धनका दलहरुले मन्त्रालय थप गर्ने गरी पनि छलफल गरिरहेका छन् । 


प्रतिक्रिया