गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

वैशाख २३, २०८१ | कास्की

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नु भएको हो । 

विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव पेश भईसकेको छ । शनिबार बसेको सत्ता गठबन्धन (एमाले–माओवादी) संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन ह्रवीप जारी गरेको छ । 

मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् बिस्तार लगायत अन्य काम गर्ने तयारीमा छन् । अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो । 

एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा एमालेका २२, सभामुख सहित माओवादीका ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 

सभामुखलाई गणना गरिएको भन्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । सो रिट सर्वोच्चले खारेज गरेपछि अधिकारीलाई सरकार बिस्तारको बाटो खुलेको हो । 

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतका लागि ३१ सांसद चाहिन्छ । तर, अदालतले ३० सांसद नै बहुमत रहेको प्रमाणीत गरिदिएपछि अधिकारीले सोही योजना अनुसार विश्वासको मत लिने तयारी गर्नु भएको हो ।

संविधान अनुसार संसदमा कायम सदस्यको ५० प्रतिशत कटेमात्र बहुमत पुग्छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ सांसद चाहिन्छ । सभामुख माओवादी केन्द्रका कृष्णप्रसाद धिताल हुनुहुन्छ । 

सत्ता गठबन्धनले सभामुखलाई ३० सिट नै बहुमत भएको घोषणा गर्न अनुरोध गर्ने सम्भावना छ । यदि त्यस्तो भए कांग्रेसले पुनः मुद्दा लिएर अदालत जाने बताएको छ । सत्ता जोड–घटाउमा राप्रपा निर्णायक छ । 

राप्रपा केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने बताउँदै आउनु भएको छ । राप्रपाका गण्डकीमा दुई सांसद छन् । राप्रपाले विश्वासको मत दिने हो भने अधिकारीको पक्षमा ३२ मत हुन्छ । २७ सिट भएको कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । 

राप्रपा यसअधि पनि अधिकारी नेतृत्वको सरकारमा सहभागी थियो । यसपटक विश्वासको मत दिने वा नदिने भन्ने विषयमा केन्द्रबाट आधिकारिक निर्णय नआएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले बताउनुभयो । 

यस्तै, कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै छ । बैठकले विपक्षमा मतदान गर्न ह्रवीप जारी गर्ने बताइएको छ ।


प्रतिक्रिया