कुलेखानी जलाशयमा ओभर फ्लो, ड्यामको ढोका खोलियो

आश्विन १२, २०८१ | हेटौंडा

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएकाले शनिबार बिहान पौने ६ बजे कुलेखानी ड्यामको ढोका खोलिएको छ । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । 

नेपाल विद्युत प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय बिहान भरिएको थियो । जलाशयका भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । 

जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताउनुभयो । उहाँका अनुसार जलाधार क्षेत्रमा भारी वर्षा भएकाले ड्यामको ढोका खोल्नु परेको हो । 

कुलेखानी ड्याम भरिएकाले तल्लो तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मकवानपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै अनुरोध गरेको थियो ।

कुलेखानी ड्यामका ढोका खोलिएकोले बाँधदेखि तल सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको भन्दै सो क्षेत्रका बासिन्दाहरुलाई सर्तकता अपनाउन अनुरोध गरिएको हो । 

कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवक समेतलाई हाइ एलर्टमा बस्न प्रशासनले अनुरोध गरेको हो । 

कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम बिन्दु हो । एक हजार ४ सय ८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत उत्पादन गर्न सकिदैन । ‘यस पटक जलाशयको पानी झण्डै अन्तिम बिन्दुसम्म उपयोग नगरेका भए यतिबेला कुलेखानी जलाशय भरिसक्थ्यो’, आयोजनाका एक इन्जिनियरले भने, ‘यो वर्ष कुलेखानी जलाशय भरियो ।’

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबराही, चित्लाङ एवं ईन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । 

अहिले जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको छ । साउनको दोस्रो साता दुई दिन लगातार परेको वर्षाले २४ घन्टामा नै झण्डै ५ मिटर पानीको सतह इन्द्रसरोवरमा बढेको थियो । २०५० सालमा एकैरात ६ मिटर पानीको सतह बढेको थियो । जलाशय भरिएर पानी बाहिर फाल्न एक्कासी ड्याम खोल्ने काम गरिएको थियो । 

कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटरसम्म पानी संकल गर्न सकिन्छ । २०७२ सालको भूकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दा बढी पानीको संकलन गर्दा बढी जोखिम हुने प्राविधिकले बताएका छन् । 

कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटरमात्र विद्युत उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत उत्पादन गर्छन । 


प्रतिक्रिया