प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती विष्ट

फाल्गुन ५, २०७४ | सुर्खेत
प्रदेश नम्बर ६ को उपसभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट निर्विरोध चयन हुनुभएको छ । अस्थायी मुकाम सुर्खेतमा आज बसेको प्रदेश सभा बैठकले विष्टलाई निर्विरोध चयन भएको घोषणा गरेको हो । विष्टलाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पेस गर्दै माओवादी केन्द्रका धर्मराज रेग्मीले प्रदेशसभा हल तथा प्रदेश मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका चार सहिदको तस्बिर राख्न माग गर्नुभएको छ ।
प्रदेश स्थापनाका क्रममा ०७२ साउन–भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर वीसी, गोपालसिंह रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कँुवरको ज्यान गएको थियो ।
प्रदेश सभाको आजैको बैठकले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । नेपालको संविधानको धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो बैठक, काम–कारबाही नियमित गर्नका लागि ९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समितिमा दलबहादुर रावल, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मिनासिंह रखाल, यज्ञबहादुर वीसी, सीताकुमारी नेपाली र शोसिला शाही सदस्य छन् ।