धर्मगुरु आचार्य श्रीनिवास पक्राउ, उनकै योजनामा गोली हानिएको आरोप
वैशाख २४, २०७५ | मोरङ
मोरङको विराटनगरमा गोली प्रहारबाट घाईते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले श्रीनिवासलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरी आज विराटनगरमा सार्वजनिक गरेको हो ।
आचार्य माथि गत चैत २५ गते विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर परिसरमा गोली प्रहार भएको थियो । प्रहरी अनुसन्धानमा आफैले आफैलाई गोली हान्न लगाएको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिनुभयो ।
ज्यान मार्ने उद्योगमा पक्राउ परेका चितवनका माधव चौधरी र नवलपरासीका लक्ष्मीराज अधिकारीले श्रीनिवासकै योजनामा गोली हानेको बयान दिएका थिए । चौधरीले श्रीनिवास माथि गोली प्रहार गरेको र अधिकारीले हतियार उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोली लागि घाइते भएका श्रीनिवासको २१ दिनसम्म विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।
थप उपचारका लागि भन्दै भारतको नयाँ दिल्ली जाने क्रममा श्रीनिवासलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । चौधरी र अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको प्रहरी उपरिक्षक बीसीले बताउनुभयो । आचार्यलाई कुन मुद्दा लगाउने बारे छलफल भइरहेको उहाँको भनाई छ ।
तीनै जना पक्राउ परे पनि गोली हान्न प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गर्न सकेको छैन । श्रीनिवासले हातमा गोली हान्न भनेको तर गल्तीले छातिमा लागेको चौधरीले प्रहरीलाई वयान दिएका छन् ।







