रामेछाप जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द 

पुस २२, २०७५ | रामेछाप

प्राविधिक जनशक्तिको अभावमा रामेछाप जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको छ । प्राविधिक जनशक्तिको अभावमा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा बन्द भएपछि गर्भवती महिला प्रभावित भएका छन् । जिल्लामा सेवा बन्द भएपछि समयमा सुत्केरी हुन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ ।

भूकम्प पछि रामेछापको मन्थलीमा सुरु भएको सो सेवा दुई वर्ष यता बन्द छ । मन्थली प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा संचालित सो सेवा निशुल्क हुँदै आएको थियो । सुत्केरी व्यथा लागेपनि घण्टौं सम्म घरमै सुत्केरी गराउन प्रयत्न गरी लागि राख्ने महिलाहरुलाई अन्तिम क्षणमा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउदा उनिहरु मध्ये अधिकांश तत्कालै शल्यक्रिया गर्नुपर्ने पाईन्थे ।

सेवा संचालन भएको १६ महिनाको अवधिमा केन्द्रमा १ सय ५२ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको थियो । जोखिममा रहेका आमाहरुलाई बचाउने उक्त संख्या उल्लेख्य हो । दुर्गम जिल्लामा सुत्केरी गराउँदा दलित, गरीब र पिछडिएको वर्गका गर्भवती महिलाहरुले बढी लाभ लिएका थिए । 

प्राथमिक स्वास्थ्य केन्द्र रामेछापका हेल्थ असिष्टेण्ट युवराज सापकोटाका अनुसार शल्यक्रिया मार्फत सुत्केरी गराउने कक्षमा ताला लागेको छ । उपकरणमा धूलो टाँसिएको छ । उक्त सेवा फेरि कहिले संचालन हुन्छ भन्ने कुरा एकीन छैन ।

केही दिन अघि मात्र मन्थली नगरपालिकाले सेवा संचालनका लागि करारमा जनशक्ति माग गरेको छ । नगरपालिकाको सेवा सर्तमा आवश्यक जनशक्ति पाईने हो होईन टुंगो छैन । 

शल्यक्रिया गराउनका लागि एमडीजीपी चिकित्सक र बेहोस गराउनका लागि एनेस्थेसियन आवश्यक पर्छ । दुबै जनशक्ति जिल्लामा उपलब्ध छैनन् । करारमा ल्याइएका दुबै जना सम्झौता अवधि सकिएपछि हिँडे । उनीहरु हिँडेपछि केन्द्रमा आउने जोखिममा रहेका महिलाहरुको तत्कालीन मेडिकल अधिकृत निलिजा शाक्यले पनि तालिमको भरमा केही शल्यक्रिया गरिन ।

उनी पनि सरुवा भएपछि सेवा ठप्प छ । शल्यक्रिया मार्फत सुत्केरी गराउने महिलाहरुलाई साता दिन सम्म खाने बस्ने व्यवस्था तथा बच्चा र आमालाई लुगाको समेत प्रबन्ध गर्दै आएको थियो । 

संघीयता कार्यान्वयनको सिलसिलामा जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनले पनि उक्त सेवा पुन: संचालन गर्न कुनै पहल गरेको छैन । एमडीजीपी र एनेस्थेसियन दुबै जनशक्ति असाध्यै महंगा हुने भएकाले थोरै पैसाले उक्त सेवा संचालन गर्न सकिंदैन ।

सापकोटा भन्छन, ‘शल्यक्रिया गर्ने चिकित्सकको माग धेरै हुने त्यसको व्यवस्थापन गर्नका लागि सरकारले नसक्ने भएकाले शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा प्रभावित हुन पुगेको हो । चिकित्सकका लागि मासिक २ लाख भन्दा बढी तलब आवश्यक पर्छ, जुन जुटाउनका लागि कठिन छ ।’

सुत्केरी गराउनका लागि समय घर्केपछि आउने महिलाहरुको संख्या धेरै हुन्छ । ती मध्ये मासिक ८/१० जनाको शल्यक्रियानै गर्नुपर्ने खालका हुन्छन । उनीहरुलाई काठमाडौं रिफर गर्ने गरिएको छ ।

जिल्लामा निशुल्क शल्यक्रिया सेवा बन्द हुँदा पहिले त उनीहरुलाई सुरक्षित सााथ काठमाडौं पुग्नै कठिन हुने र पुगिहाले पनि झण्डै ७० हजार खर्च लाग्ने स्वास्थ्यकर्मी हरु बताउँछन् । अस्पतालको मात्र नभई काठमाडौं जाउ आउ र खानबस्नका लागि थप खर्च बेहोर्नु पर्ने अर्को बाध्यता छ । 


प्रतिक्रिया