महापर्व छठ

कार्तिक १६, २०७६ | विराटनगर

- प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आइएको बहुसाँस्कृतिक, बहुधार्मिक एवं बहुजातिय महापर्व छठको शनिबार मुख्य पुजाको दिन हो । उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि तराई–मधेसलगायत मुलुक भरका नदी किनार, खोला छेउ, पोखरीको डिल र नहर वरपरलाई झिलिमिली पारिएको छ ।

 परिवारजन एवं छरछिमेकको सहयोगमा व्रतालुले शनिबार विहानदेखि गहुँको पिठोको ठेकुवा, चामलको पिठोको भुसुवा, खाजा भनिने एक प्रकारको मिठाइ एवं पुरीलगायतका सामग्री तयार पार्छन् । अपराह्न घरको आँगन वा वरन्डालाई लिपेर चोख्याउँछन् । घाट भनिने जलासय किनार तिर लाग्नु अघि बाँसको नांग्लो र ढाकीमा पुजा सामग्री मिलाएर राख्छन् ।

 

एक पटक घरमै पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुन: ढाकीमा सजाएर राख्छन् । प्रसाद झर्न नदिनलाई ढाकीलाई सफा कपडाले मजाले बाँधिन्छ । ढाकीको अघिल्तिर निभ्न नदिने गरी सावधानीका साथ बलिरहेको दियो राखिन्छ । यसपछि नयाँ पहिरनमा ठाँटिएर ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर छठको बाजागाजाका साथ लोकगीत गाउँदै घाटतिर लाग्छन् । प्रसादले भरिएको ढाकी भने सबैभन्दा जिम्मेबार एवं बलियालाई बोक्न लगाउँछन् । 

लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार विहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पुजा सामग्रीसहित पुगेर गीत गाउँदै ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ्य दिन्छन् । स्थानीय भाषामा यि दुई धार्मिक विधिलाई क्रमश: सझिया घाट र भोरका घाट भनेर बुझिन्छ ।

विहानीको अघर््य लगतै छठ माताको अपार महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठान विधिवत सकिन्छ । योलगतै अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन् । यो चलन दूर्गा पुजामा पनि छ ।

यो पर्वको अन्तिम दुई दिन घाट भनिने नदी, खोला, पोखरी एवं नहर छेउछाउमा तिहारको झैं वातावरण हुन्छ । केही दिन अगाडिदेखि नै घाटको सरसफाइ, निर्माण र सजावटमा स्थानीय निकाय एवं ब्रतालु परिवारजन लाग्छन् । लक्ष्मी पुजामा घरलाई सजिसजाउ पारे झैं यतिखेर घाटलाई झिलिमिली पारिन्छ । तराई–मधेसको घाटमा लहरे केराको बोट गाडेर दियो बालिने हुनाले दुरुस्त दिपावलीकै झझल्को आउँछ ।

 विहानीको अन्तिम पुजापछि अर्घ्य दिने, व्रतालुको पाउ ढोकेर आशीष लिने एवं ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद मागिरहेकाको घाटमा भिड लाग्छ । माग्ने र दिने पक्षकालागि यो गर्व एवं खुशीको क्षण हुन्छ । प्रसाद बाड्दा धर्म हुने विश्वास गरिन्छ । त्यसैगरी प्रसाद मागेर खानेलाई पनि पुजा गर्ने जतिकै पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । 

अगाध आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आर्शिवाद लिने क्रम घरदेखि घाटसम्म चलिरहन्छ । ब्रतालुले बिहीबार विहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका थिए ।

 

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको दोस्रो मुख्य दिन शुक्रबार साँझ छठ ब्रतालुले घरघरमा ‘खरना’ पुजा गरे । जल, जीवन र सूर्यबीचको अटुट सम्बन्ध झल्काउने छठको खरना विधिमा पापको क्षय हुने जन आस्था छ ।पहिलो दिनको स्नानपछि शुद्ध शाकाहारी भोजन खाए पछि पूर्णरुपले उपवास गरेका छठका ब्रतालुले शुक्रबार परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पारे । मधेसतिर यो पर्वकैलागि बनाइएको माटोको छुट्टै चुल्होमा मुख्य उपासक महिलाको अगुवाइमा ती सम्पूर्ण पुजा सामग्री पकाइन्छ । 

व्रतालुले शुक्रबार साँझ घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गरे । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राखे । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी मातालाई सम्झदै मौन पुजा गरे । कोलाहलले पुजामा बाधा पुग्न सक्ने कारणले व्रतालुले ढोका थुनेरै आराधना गरिन्छ ।

देवीदेवतासँग गरेको कामनालाई व्रतालुले गोप्य राख्छिन् । बाहिर तिर घरको आँगन र बरन्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले व्यग्र भावले पुजा समाप्तिको प्रतिक्षा गरिरहेका हुन्छन् । घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन् । टाढाढाका आफन्तजन एवं मित–मितेनीलाई ब्रतालु परिवारले धेरै दिन अगावै निम्तो दिएर बोलाउँछन् वा लिएर आउँछन् ।    

खरना पुजा सम्पन्न भएपछि ब्रतालुले प्रसाद ग्रहण गर्छन् । उपस्थित सबैलाई थोरथोर बाँडछन् । छठ पुजाको मुख्य दिन अगाडीको यो महत्वपूर्ण धार्मिक विधि हो । यो धार्मिक अनुष्ठानपछि व्रतालुद्वारा कठिन निर्जला उपवास सुरु हुन्छ ।

 

सूर्यदेवको पुजाका लागि अर्को दिन बेलुकी पख र भोलिपल्ट विहान घरबाट नजिकैको जलाशय किनारमा पुग्ने संझनाले ब्रतालु एवं आफन्तजनलाई रातभरी निंद्रा लाग्दैन । विभिन्न धार्मिक मान्यता एवं आस्था अनुरुप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ ।  

 


प्रतिक्रिया