दाङमा एक किशोरलाई कोरोना संक्रमणको आंशका
चैत्र ७, २०७६ | दाङ
दाङको घोराहीका एक १७ वर्षीय किशोरलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
भारतबाट केही दिनअघि आएका उनलाई आज स्वास्थ्य जाँच गर्दा संक्रमणको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।
उनलाई १४ दिनदेखि लगातार ज्वरो आइरहेको र धेरै लक्षणहरु शंकास्पद भएकाले आइसोलेसनमा राखिएको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले बताउनुभयो । स्याम्पल जाँचका लागि सुरक्षा किट नभएकाले भोलि मात्रै स्याम्पल काठमाडौं पठाइने डा. भण्डारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा ज्वरोका बिरामीहरु बढेपछि छुट्टै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्रतिष्ठानले १० शैयाको आइसोलेसन वार्डको व्यवस्था गरेको छ ।