कतार सरकारद्वारा १४ जना नेपाली कैदीबन्दीलाई आममाफी
वैशाख २१, २०७८ | काठमाडौं
कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । दोहास्थित नेपाली राजदूताबासले आज एक सूचना जारी गर्दै कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदीबन्दीलाई सरकारले आममाफी दिएको जानकारी गराएको हो ।
रमादान पर्वको अवसरमा कतार सरकारले नेपाली कैदीबन्दीलाई आममाफी दिएको राजदूतावासले जनाएको छ । यसअघि दूताबासले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत ध्यानमा राख्दै नेपाली कैदीबन्दीको रिहाईका लागि नेपालको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो ।
आममाफी पाएका नेपालीहरुको नेपाल फिर्तीका लागि कतार सरकारका सम्बन्धित निकायसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सूचनामा उल्लेख छ ।