सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

पुस २८, २०७९ | धनगढी

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री रावलले शपथ लगत्तै पदभार ग्रहण गर्नु भएको छ । 

बिहीबार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावल शपथ गराउनु भएको हो । प्रदेश प्रमुख जोशीले नवनियुक्त मन्त्री माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापालाई पनि शपथ गराउनुभयो । 

रावल बुधबार एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्क्री नियुत्त हुनु भएको थियो ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गर्ने निर्णय गर्नुभयो । 

उहाँले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गर्ने निर्णय गर्नु भएको हो । 

कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहने छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया