सल्यानमा भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउन सुरु

कार्तिक २६, २०८० | सल्यान

जाजरकोट भूकम्पले क्षति पुर्‍याएको सल्यानको दार्मा गाउँपालिकामा नेपाली सेनाले पीडित परिवारका लागि अस्थायी टहरा निर्माण सुरु गरेको छ । भूकम्पले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई सुरक्षित आवास, विद्यालय तथा स्वास्थ्य चौकी सञ्चालन गर्न सेनाले अस्थायी टहरा बनाउन थालेको हो । 

गृह मन्त्रालयले ७० वटा अस्थायी टहराका लागि सामग्री उपलब्ध गराएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । सेनाले शनिबार र आईतबार सम्ममा १२ वटा अस्थायी टहरा निर्माण सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । 

वडाध्यक्ष केसीका अनुसार त्रिपाल टाँगेर बस्दा चिसोका कारण बुढाबुढी, बालबालिका र सुत्केरी बिरामी पर्न थालेका छन् । भूकम्पले दार्मामा मात्रै ९ सय ४७ घर र आठ विद्यालय पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

एक स्वास्थ्य चौकी क्षति भएको छ । ‘भूकम्पबाट २ हजार ६ सय विस्थापित भएका छन्’, गाउँपालिकाका अध्यक्ष केसीले भन्नुभयो, ‘विस्थापित भएका सबै त्रिपाल टाँगेर बस्न बाध्य छन् । त्रिपालमा बस्दा चिसोले बिरामी पर्न थालेका छन् ।’

तिहार लगत्तै विद्यालय सञ्चालन हुने भएपनि जोखिमका कारण बालबालिको पठनपाठन प्रभावित हुन नदिन अस्थायी टहरामा कक्षा सञ्चालन गरिने दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनुभयो । भूकम्पले स्वास्थ्य चौकी भवनमा क्षति पुगेकोले अस्थायी टहरा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया