बाग्लुङमा डढेलो निभाउने क्रममा एकको मृत्यु, दुई घाइते

वैशाख १५, २०८१ | बाग्लुङ

बाग्लुङको तमानखोला गाउँपालिका–३ स्थित वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाकाृ मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । वनमा लागेको आगो निभाउने क्रममा तमानखोला–३ सिलगुम गाउँका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो । 

आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । सोही क्रममा ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते भएका छन् । 

घाइतेको अनुहार, हातखुट्टा जलेको स्थानीयले बताए । घाइते दुबै बुर्तिवाङस्थित प्राथमिक स्वास्थय केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । डढेलो गाउँमा फैलिएपछि घर गोठमा पनि क्षति पुगेको छ ।

डढेलोले तमानखोला–२ का रामबहादुर कार्कीको जस्ताले छाएको घर, सूर्यबहादुर सिर्पालीको गोठ जलेर पशुचौपाया समेत क्षति भएको छ । क्षतिबारे तथ्यांक संकलन भईरहेको प्रहरीले जानकारी दिएको छ । 

डढेलोबाट जिल्लाका दर्जनौं जंगल नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यादवले धेरै स्थानमा आगो लागेको सूचना आएको भन्दै डढेलो निभाउन प्रहरी र स्थानीयबासिन्दा परिचालन भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया