मानव अधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

वैशाख १७, २०८१

राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा भएका आगलागी र डढेलोका घटनाहरुबाट नागरिकको जीउधनको क्षति भइरहेको अवस्थाप्रति आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । महोत्तरीको जरलहवा टोलमा गत बुधवार भएको आगलागीबाट ९१ वटा कच्ची र ९ वटा अर्धपक्की घर जलेको र त्यसबाट ४ सय ५५ जना प्रभावित भएको आयोगले जनाएको छ । 

आयोगका अनुसार, विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा एक जनाको मृत्यु हुनुका साथै ४ जना घाइत भएका छन् । घटनापश्चात तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरु थप समस्यामा परेको देखिएको छ । मानवअधिकार आयोगले पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा सुरक्षाकर्मी तथा स्थानीवासी पूर्वतयारी विना परिचालित हुँदा थप मानवीय क्षति भएको बताएको छ । यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम सहरी क्षेत्रमा केन्द्रित भएको आयोगको भनाई छ । 


प्रतिक्रिया