तिलोत्तमाका नगर प्रहरी र अग्नि नियन्त्रकलाई विपद न्यूनीकरण तालिम

वैशाख १८, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विपद् व्यवस्थापनसँग सम्बन्धित जनशक्तिका लागि विपद न्यूनीकरण तालिम सञ्चालन गरेको छ । नगरपालिकाले नगर प्रहरी, अग्नि नियन्त्रक र विपद व्यवस्थापनसँग सम्बन्धित जनशक्तिलाई लक्षित गरी तीन दिने प्रशिक्षण सञ्चालन गरेको हो । 

पालिकामा आइपर्ने विपद रोक्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो । मानवीय संवेदनशीलताको विषयमा नगरपालिका सदैव सतर्क रहेको उहाँको भनाई छ । 

‘हरेक वडाका नागरिकलाई विपदबाट बच्ने उपायबारे जानकारी दिन सकिए उत्तम हुन्छ भन्ने लागेर यो कार्यक्रम राखिएको हो,’ उहाँले भन्नुभयो, ‘गर्मीमा आगलागी, असारमा बाढी जस्ता विपद आइपर्ने भएकाले यसबारे जानिराख्न जरुरी छ ।’ 

विपद् सम्बन्धी सिकाइले सैद्धान्तिक र प्राविधिक दुबै ज्ञान पाइने र त्यसलाई व्यवहारमा लागू गर्दा क्षति न्यूनीकरण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । 

त्यस्तै विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले जोखिम न्यूनीकरण गर्न सक्ने जनशक्ति उत्पादन नै आफूहरुको उद्देश्य रहेको जानकारी दिनुभयो । 

तालिम लिएका सबैले आफ्ना वडामा सिकाउने गरी टोली निर्माण गरिने उहाँको भनाई छ । ३ दिनसम्म चल्ने तालिममा पूर्व सहसचिव नारायण थापाले सहजीकरण गर्नुहुनेछ ।


प्रतिक्रिया