सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४ दशमलव ९१ प्रतिशत हुने अनुमान

वैशाख २०, २०८१ | काठमाडौं

चालू आर्थिक वर्षमा मुलुकमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४ दशमलव ९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक लेखा तथ्याङ्क अनुसार कम्प्युटर प्रोगामिङ एवं इन्फर्मेसन सर्भिस सम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार र तार रहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४ दशमलव १५ प्रतिशत रहने संशोधित अनुमान थियो ।

२०७८÷७९ को अन्तिम तथ्याङ्क अनुसार सो क्षेत्रको वृद्धिदर ४ दशमलव १९ प्रतिशत कायम गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार सञ्चार तथा सूचना प्रविधि क्षेत्रको कुल उत्पादन २ खर्ब ४५ अर्ब १० करोड रुपैयाँ हाराहारी रहने आकलन गरिएको छ ।

अघिल्लो वर्षमा २ खर्ब ३२ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी आज मनाइएको छ ।

यसैबीच, दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । उहाँले सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढेको भए पनि अझै डिजिटलाइज गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको बताउनुभयो ।

सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको भन्दै मन्त्री शर्माले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई तीव्र र प्रभावकारी बनाउन सरकारले दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको उल्लेख गर्नुभयो । यसैबीच, आज नेपालमा दिनभर जसो इन्टरनेट सेवा प्रभावित भएको थियो । 


प्रतिक्रिया