भारतको बिहारमा हुने लोकसभा निर्वाचनका कारण नेपाल भारत सीमा नाका बन्द
वैशाख २३, २०८१ | काठमाडौं
छिमेकी मुलुक भारतको बिहार राज्यस्थित मधुवनी जिल्लामा हुने लोकसभा निर्वाचनका कारण सो क्षेत्रमा पर्ने नेपाल भारत सीमा नाका बन्द गरिएको छ ।
मधुवनीमा पर्सी मंगलबार निर्वाचन हुँदैछ । गएरातिदेखि आगामी मंगलबार मध्यराति १२ बजेसम्म सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । निर्वाचनको ७२ घण्टा अघिदेखि सीमानाका बन्द गर्ने जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम सो व्यवस्था गरिएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, जनकपुर–जयनगर रेल सेवा समेत आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनामा आजदेखि आगामी मंलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द गरिने जनाइएको छ ।