लेक लागेर बिरामी भएका पर्यटकको सेनाद्वारा उद्धार

लेक लागेर बिरामी भएका पनेरुलाई डोकोमा बोकेर उपचारको लागि लैजाँदै सेनाको टोली । तस्बिर सौजन्य : दिपेश खड्का । 

वैशाख २४, २०८१ | बझाङ

लेक लागेर बिरामी भएका एक जना पर्यटनलाई खप्तडबाट नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर बिरामी भएका कैलालीको धनगढीका ५४ वर्षीय ओम प्रकाश पनेरुलाई सेनाको टोलीले उद्धार गरेको हो । 

आफन्तसँग घुम्न गएका पनेरु बिरामी भएपछि खप्तडस्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो । पनेरुको खप्तडमा प्राथमिक उपचारपछि सेनाको टोलीले पाँच घण्टाको पैदल दूरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँसम्म पुर्‍याएको हो । 

‘दारु गाउँबाट थप उपचारको लागि गाडीमा चैनपुर पठाइएको छ’, समरजित गुल्मका गुल्मपती दिपेश खड्काले भन्नुभयो, ‘खप्तडबाट दारुगाउँसम्म सेनाको टोलीले डोकोमा बोकेर सुरक्षित रुपमा गाडीमा पुर्‍याएको छ ।’ 

अहिले बिरामीको अवस्था सामान्य रहेको समरजित गुल्मका गुल्मपती खड्काले जानकारी दिनुभयो । समुन्द्र सतहबाट दुई हजारदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको खप्तडमा लेक लाग्ने गरेको छ । यद्यपि, यस्तो समस्या विरलै देखिने गरेको खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारीहरु बताउँछन् ।


प्रतिक्रिया