बाग्मती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा

वैशाख २४, २०८१ | काठमाडौं

बाग्मती प्रदेशमा सरकारी कामकाजमा नेपाल र तामाङ भाषाको समेत प्रयोग गर्न सुरु गरिएको छ ।

काठमाडौँको वसन्तपुरमा आज आयोजित कार्यक्रममार्फत् ती दुई भाषालाई सरकारी कामकाजका लागि प्रयोग गर्ने औपचारिक घोषणा गरिएको हो ।

बाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को शुभारम्भ तथा भाषा दिवस २०८१ को घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै संविधानलाई पूर्ण तुल्याउन पनि सबैको ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

पहिचान र अधिकार स्थापितसहित आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले देशको स्वाधीनता, स्वाभिमान र समृद्धि चाहनेका निम्ति आजको दिन विशेष गौरवको दिन भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल संवत् कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानुन निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया