गण्डकीमा मन्त्रीपरिषद् विस्तार

वैशाख २४, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ श्यामलाई मन्त्री नियुक्त गर्नु भएको हो । दुवै जना यसअघि पनि अधिकारी नेतृत्वमा नै मन्त्री बनेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पोखरा सभागृहमा पद तथा गोपनियताको शपथ खुवाउनु भएको छ ।

सुन्दासले सामाजिक विकास र गुरूङले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रुपमा शपथ लिनु भएको छ । यसअघि सुन्दासले आर्थिक मामिला र गुरूङले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन माओवादीका हरिबहादर चुमान र स्वतन्त्र सांसद राजिव गुरूङ उर्फ दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका थिए । हाल चुमानले आर्थिक मामिला र गुरूङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी समालेका छन् ।

उधोग, पर्यटन, वन तथा वातावरण र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मा भने मुख्यमन्त्री आफैंले लिएका छन् ।

गण्डकीका मुख्यमन्त्रीले आज मात्र विश्वासको मत लिनु भएको छ । सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको मतलाई नै बहुमत घोषणा गरेपछि विवादमा तानिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्चमा रिट दायर गर्न सोमबार काठमाडौं आइपुगेका छन् ।


प्रतिक्रिया