आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

वैशाख २६, २०८१ | काठमाडौं

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरि मातातीर्थ औंसी मनाइँदै छ । 

बैशाख कृष्ण औंसीका दिन मनाईने यो पर्वमा आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने प्रचलन छ । दिवंगत आमाको नाममा भने श्राद्ध, तर्पण तथा दान गरे अक्षय पुण्य मिल्ने धार्मिक विश्वास छ । 

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको मातातीर्थमा मेला लागेको छ । बिहान सबेरैदेखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लागेको छ ।

भगवान विष्णुले मातृवियोगबाट विह्वल व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई माताको दर्शन गराएको भन्ने मान्यताका साथ हिन्दू धर्मालम्वीले मातातीर्थ औंसी मनाउने गर्दछन् । 

जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ । स्वस्थानी व्रतकथा अनुसार यस तीर्थमा सतीदेवीको अंग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।


प्रतिक्रिया