सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण आज

वैशाख २७, २०८१ | काठमाडौं

सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण गरिँदैछ । रथारोहण गराउन मत्स्येन्द्रनाथलाई तःबहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइने छ । 

साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिने चलन छ । 

तिथि अनुसार मातातीर्थ औंसीमा देवीचौरको कटुवाल दहबाट कलशमा मत्स्येन्द्रनाथलाई ल्याउने र आज बैशाख शुक्ल प्रतिपदामा रथारोहण गर्ने चलन छ । 

रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रुपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ, बेत र काठ मात्र प्रयोग गरी पुल्चोकमा तयार पारिएको छ । 

रथारोहणपछि विधिवत रुपमा रथयात्रा गरिन्छ । वर्षा र सहकालका देवताका रुपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । 

विद्या, धन, सम्पत्ति, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरो रुप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा बैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । 

मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहणपछि मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंग्मतीमा लगिएपछि जात्रा समापन हुन्छ ।


प्रतिक्रिया