कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन

वैशाख २८, २०८१

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्ने क्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गर्नुभएको थियो । 

दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरुले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने अडान लिएका थिए । विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले आगामी जेठ १ गते बेलुका साढे ५ बजेसम्मका लागि बैठक स्थगन गर्नु भएको हो ।

यसअघि, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठकलाई सम्बोधन गर्दै सरकारको बजेट र नीति कार्यक्रमले देश र जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि राष्ट्रिय सभाका सदस्यहरुले मुलुकको वर्तमान आवश्यकतामा आधारित र नतिजामुखी हुने दिशामा केन्द्रित भएर रचनात्मक रूपमा छलफलमा भाग लिन आग्रह गर्नुभएको थियो । 


प्रतिक्रिया