गैंडाको आक्रमणबाट चितवनमा एकको मृत्यु

असार २, २०८२ | चितवन
गैंडाको आक्रमणबाट आइतबार साँझ चितवनको मेघौलीमा एक जनाको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जंगे कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार कुमाललाई आइतबार राति आठ बजेतिर गाउँ आडको राप्ती खोलामा गैंडाले हानेको थियो ।
उनी माछा मार्न खोलामा गएका बेला आक्रमणमा परेको डीएसपी खनालको भनाइ छ । आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई उपचारका लागि भरतपुरको अस्पताल लगिएको थियो ।
चिकित्सकले राति नौ बजे जंगेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चितवन निकुञ्ज आडका चितवनसहित चार जिल्लाका गाउँ बस्तीमा जंगली जनावर गैंडा, बाघ, जंगली हात्ती लगायत जीवजन्तुको आक्रमणमा परेर बर्सेनि पाँचदेखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।