माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माणकार्य तीब्र
श्रावण २३, २०७६ | काठमाडौं
जनताको जलविद्युत कार्यत्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत निर्माणको काम तीब्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ ।
आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये ७ सय २४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्रि बी’ ले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनुपर्ने छैन । थ्री ए’ को विद्युत गृहबाट निक्लिएको पानीलाई सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको आयोजनाले जनाएको छ ।
वर्खायाम सकिएपछि विद्युत गृह, सर्ज ट्याङ, पेनस्टकलगायतका संरचनाको निर्माण सुरु हुने जलविद्युत कम्पनीका प्रवन्ध–संचालक मोहनप्रसाद गौतमले बताउनुभयो । आगामी बर्ष फागुन २९ गते निर्माण सक्ने लक्ष्य लिइएको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।