क्यानडाविरुद्ध नेपालको क्लिन स्वीप, अनिलकुमार शाह र भीम सार्कीको शतक

माघ २९, २०८० | काठमाडौं

नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ । अनिलकुमार शाह र भीम सार्कीको शतकमा नेपालले आज क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम म्याच ९ विकेटले जित्दै सिरिज ३–० ले जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा ग¥यो । ओपनर कुशल भुर्तेल १३ रन बनाई पाँचौं ओभरमा आउट भएपछि अनिल र भीमले १ सय ८९ रनको उत्कृष्ट साझेदारी गरे ।

ओडिआईमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी समेत हो । यसअघि कुशल भुर्तेल र आसिफ शेखले गत अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १ सय ७१ रनको साझेदारी गरेका थिए । 

अनिल १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय १२ रन तथा भीम १ सय २९ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १ सय १ रनमा नटआउट रहे । दुबैको ओडीआईमा यो पहिलो शतक हो ।

अनिलले १ सय १६ बल तथा भीमले १ सय २७ बलमा शतक पूरा गरेका हुन् । यो सँगै ओडिआईमा नेपालबाट शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बनेका छन् ।

त्यसअघि, पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । सो क्रममा ओडिआईमा डेब्यु गरेका नेपाली बलर हेमन्त धामीले ८ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले समान १÷१ विकेट लिए । 

नेपालले सिरिज अन्तर्गतको पहिलो खेल ७ रन तथा दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले विश्वकप लिग टू को तयारीका लागि क्यानडासँग ओडीआई सिरिज खेलेको हो । 


प्रतिक्रिया