गण्डकीका दुई जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला बनाइने

वैशाख १३, २०८१ | कास्की

गण्डकी प्रदेशका दुई जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला बनाइने भएको छ । गण्डकी प्रदेश सरकारले नवलपुरको कावासोती नगरपालिका–२ नवदुर्गा खेल मैदान र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान बनाइने भएको हो । 

प्रदेश सरकारको गत चैत ९ मा बसेको मन्त्रिपरिषद्को वैठकले सो निर्णय गरेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले बताउनुभयो ।

उहाँका अनुसार प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन प्रदेश खेलकुद परिषदले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको थियो । 

रंगशालाका निर्माणका लागि अध्ययन समिति गठन गरिएको थियो । सो समितिले अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको हो । सोही प्रतिवेदनको आधारमा सरकारले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रिपरिषदले निर्णय गरेको हो । प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाट अर्को रंगशालाको दूरी कम्तिमा ४० किमिभित्र हुनुपर्छ । 

सोही प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाबाट ४० किलोमिटर भित्र पर्ने भएकोले पनि सो स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयुक्त हुने गरी मन्त्रिपरिषदले निर्णय गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।

‘गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ’, उहाँले भन्नुभयो, ‘सबै कुराले कावासोती उपयूक्त पनि छ ।’ यस्तै, तनहुँको शुक्लागण्डकीको गाउँफर्कोदय माविको खेल मैदान समेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमिभित्रै पर्छ । 

सोही खेल मैदानलाई क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको छ । प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि चालू वर्षको विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको छ ।

यी दुबै स्थान प्रादेशिक क्रिकेटका लागि उपयुक्त रहेको शर्माले बताउनुभयो । कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्वीकृत दिएको छ भने शुक्लागण्डकीको लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिव १ सय ७३ रोपनी जग्गाको स्वीकृति प्राप्त भएको छ ।

परिषदले कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा ५ सदस्यीय क्रिकेट रंगशाला सम्भव्यता अध्ययन टोली गठन गरेको थियो । टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकनसँगै स्थानीय सरोकारवालासँग छलफल चलायो । 

पोखरा महानगरपालिका–१४ भेडीफर्ममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेको थियो । पोखरा–१४ स्थित भेडीफर्मको जग्गाको विषयमा कुनै निर्णय नभएकोले सो बारे मन्त्रिपरिषदले कुनै निर्णय भने गर्न सकेको छैन । 

परिषदले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको सो जग्गा भेडीफर्मको चरण एरिया समेत भएकोले हस्तान्तरणका लागि लामो प्रक्रिया अपनाउनुपर्ने भएकोले परिषदले सोको विकल्पमा नयाँ स्थानको खोजी कार्य तीब्र रुपमा अघि बढाएको अध्ययन टोलीका संयोजक शर्माले जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयुक्त जग्गाको खोजीमा रहेको गण्डकीको प्रदेश खेलकुद परिषदले अन्ततः जग्गा पाउने भएको छ । 

पोखरा महानगरपालिका–२९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसँगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो । 

करीब ४ सय ५० रोपनीमा फैलिएको सो जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतिघाटको निर्माण कार्य अघि बढ्न सकेको छैन ।

प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । सरकारले पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत तयार गरिसकेको छ । 


प्रतिक्रिया