नेपाल र वेस्ट इन्डिज ’ए’ बीचको तेस्रो टी-२० सिरिज आज
वैशाख १९, २०८१ | काठमाडौं
नेपाल र वेस्ट इन्डिज ’ए’ टिमबीचको तेस्रो टी–२० क्रिकेट सिरिज आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न सवा १२ सुरु हुनेछ । पाँच खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरी भएको छ ।
सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले पराजित भएको थियो । कप्तान रोहित पौडेलले उत्कृष्ट इनिङ्स खेले पनि नेपाललाई जित दिलाउन भने सकेन ।
दुबै टोली अर्को महिना हुने ट्वान्टी–२० विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले पनि आजको दुबै टोलीको लागि महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले टी–२० विश्वकपमा सहभागी हुने टोली घोषणा गर्दै नामावली पेस गर्न दिएको समय आज सकिँदैछ ।
नेपालले अहिलेसम्म पनि विश्वकप खेल्ने टोली घोषणा गरेको छैन । वेस्ट इन्डिज ए टिमसँगको आजको खेल नै नेपाली टोलीको टुंगो लगाउनेछ ।
आज रातिसम्ममा १५ सदस्यीय अन्तिम नामावली आईसीसीमा बुझाइसक्नु पर्नेछ । तर, विश्वकपका लागि टिम घटाउँदै लैजानुपर्नेमा पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा २० खेलाडी छन् ।
गत शुक्रबार नेपालले आफ्नो टोलीमा विनोद भण्डारी, लोकेश बम, सागर ढकाल र कमलसिंह ऐरीलाई थपेर २० सदस्यीय बनाएको थियो ।