आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

तस्बिर : रोयटर्स 

वैशाख २३, २०८१ | काठमाडौं

आर्सनलले बर्नमाउथलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ । आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा हिजो भएको खेलमा बर्नमाउथलाई ३–० गोल अन्तरले हराएको हो । 

आर्सनलको जितमा बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड र डेक्लान राइसले समान एक–एक गोल गरे । साकाले खेलको ४५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

खेलको ७० औं मिनेटमा ट्रोसार्ड र अतिरिक्त समयमा राइसले गोल गर्दै आर्सनको जित सुनिश्चित गरे । यो नतिजासँगै शीर्ष स्थानको आर्सनलको ८३ अंक भएको छ । दोस्रो स्थानको म्याचेस्टर सिटीको ८२ अंक छ । पराजित बर्नमाउथ ४८ अंक सहित १० औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा इर्लिङ हालान्डको चार गोलको मद्दतमा म्यानचेस्टर सिटीले उल्भ्सलाई ५–१ गोलले पराजित गरेको छ । इतिहाड स्टेडियममा भएको खेलमा सिटीको जितमा हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरे । 

उल्भ्सका लागि ह्वाङ हे चानले एक गोल फर्काए । लिगको अन्य खेलमा नटिङ्घम फरेस्टले भने सेफिल्ड युनाइटेडलाई ३–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राखेको छ । 

फरेस्ट २९ अंकसहित तालिकाको १७ औं स्थानमा छ । न्युकासल युनाइटेडले बर्नलीलाई ४–१ गोलले पराजित गर्दा ब्रेन्टफोर्ड र फुलहमले गोलरहित बराबरी खेलेका छन् । 


प्रतिक्रिया