लिभरपुलसँग टोटनह्याम पराजित

वैशाख २४, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्ड स्टेडियममा हिजो भएको खेलमा लिभरपुलले पाहुना टोली टोटनह्यामलाई ४–२ गोल अन्तरले हराएको हो । 

लिभरपुलको जितमा मोहम्मद सलाह, एन्ड्रयु रोबर्टसन, कोडी गाक्पो र हार्भे एलियटले समान एक÷एक गोल गरे । टोटनह्यामका लागि रिचार्लिसन र सन ह्युङ मिनले एक÷एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सलाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा रोबर्टसन र ५० औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुरको अग्रता तेब्बर पारे । 

एलियटले ५९ औं मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । यो नतिजासँगै तेस्रो स्थानको लिभरपुरको ३६ खेलबाट ७८ अंक भएको छ । 

समान ३६ खेलबाट ८३ अंक सहित आर्सनल शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ८२ अंकका साथ दोस्रो स्थानमा छ । पराजित टोटनह्याम भने ६० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

यस्तै, लिगको अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० गोलको फराकिलो अन्तरमा पराजित गरेको हो । 

यो जितसँगै चेल्सी ५४ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ । वेस्ट ह्याम भने ४९ अंक सहित नवौं स्थानमा छ । अन्य खेलमा ब्राइटनले एस्टन भिल्लालाई १–० गोलले हरायो ।


प्रतिक्रिया