खेलाडीलाई घोषणा गरिएको झन्डै ३ करोड रुपैयाँ निकासा गर्ने मन्त्रीपरिषद्को निर्णय

वैशाख २७, २०८१ | काठमाडौं

सरकारले विभिन्न खेलका पदक विजेता र अन्तराष्ट्रिय खेलमा सफलता दिलाएका खेलाडी र अफिसियललाई दिन घोषणा गरिएको झन्डै ३ करोड रुपैयाँ निकासा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न खेलका खेलाडीलाई गरि २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् ।

आइसिसी टि–ट्वान्टी विश्वकपको एसियाली छनोटमा दोस्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टिमले २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । १५ खेलाडीले जनही १३ लाख पाउनेछन् । त्यस्तै, १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् ।

त्यस्तै, एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ । एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार रुपैया पाउने भएका छन् ।

चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । सरकारले घोषणा गरेको पुरस्कार रकम निकासाका लागि धेरै मिहिनेत गर्न परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताउनुभयो ।  


प्रतिक्रिया