यूएन मिसन प्रश्नपत्र प्रकरण : तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस
- काठमाडौंशान्ति मिसनमा जान इच्छुकका लागि नेपाल प्रहरीले साउन १५ र १६ गते लिएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको प्रकरणमा छानबिन गर्न गठित समितिले तीन जना प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको छ ।
प्रहरी नायब महानिरीक्षक डीआइजी वसन्त लामाको नेतृत्वमा गठित छानबिन समितिले प्रहरी नायब निरीक्षक (सई) जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई तत्काल निलम्बन गरी बर्खास्तीको लागि प्रकृया अघि बढाउन सिफारिस गरेको हो ।
परीक्षा अगावै प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भएपछि हेडक्वार्टरले डीआइजी लामाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एक साताको अनुसन्धान पश्चात डीआइजी लामा नेतृत्वको समितिले आज प्रहरी प्रमुख आइजीपी शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठ लामो प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले यूएन शाखा प्रमुख एसपी अनुपम शम्शेर जबरा, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, इन्स्पेक्टर ईश्वरी भण्डारी सहित डीएसपी रुपेश खड्का, सुगन्ध श्रेष्ठ, इन्स्पेक्टर दीलिप क्षेत्री, सइ केदार तिमिल्सना, सुनील भण्डारी, केशव कार्की, असइ अशोक कार्की र जवान सुनिता नेपाली लाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
समितिको प्रतिवेदनमा देशभर भएका सबै प्रि–स्याट परीक्षा रद्द गर्न सिफारिस गरिएको छ । प्रहरी हवल्दार कुमार शाहको योजनामा यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमले प्रश्न पत्र चोरेर फोटोकपी गरी तथा सामाजिक सञ्जाल मार्फत बाँडेको समितिको निष्कर्ष छ । बाहिरिएको प्रश्नपत्र १ सय १९ जनासम्म पुगेको देखिएको समितिको निष्कर्ष छ । समितिले २४ जनालाई सचेत गराउन सिफारिस गरेको छ ।
सम्बन्धित समाचार :